डोटी भूकम्प : पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

डोटी । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

बुधवार बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उनले जानकारी दिए । यसैगरी उनले अन्य विभिन्न निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन समेत आग्रह गरे ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् ।