बालबालिकाको सुरक्षाका विषयमा छलफल बैठक सम्पन्न


सुर्खेत । बालबालिकाको सुरक्षाका विषयमा छलफल बैठक सम्पन्न भएको छ । सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को आयोजनामा आज मंगलबार वीरेन्द्रनगर नगरपालिकामा छलफल बैठक सम्पन्न भएको हो ।

बैठकमा विद्यालय उमेरका बालबालिकाहरुमा अभिभावकीय दायित्व कम हुँदा परेको नकारात्मक असर, स्थानियतहलेल बालिकाहरुलाई प्रदान गर्ने स्यानिटरी प्याड, बालविवाह तथा बालिकाले भोगेको साइबर अपराध र हिंसाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै अमरज्योती माध्यामीक विद्यालयका शिक्षिका नविना वि.सीले बुवाआमा संग बस्ने बालबालिका भन्दा भाडामा बसेर अध्ययन गर्ने बालबालिकाहरु दुव्र्यसनमा फसेको बताईन् । उनका अनुसार बालबिवाह गर्ने, समुहमा झगडा गर्ने र असुरक्षित गर्भको समेत समस्या उनीहरुमा देखापरेको हो ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र चिसापानीका विष्णु गुरुङले विद्यालयमा मनोसामाजिक परामर्शको तालिम समेत दिन आवश्यक भएको बताईन् । उनले बालिकाहरुलाई प्रदान गरिने स्यानिटरी प्याडको समेत गुणस्तर नभएको भन्दै यसमा सुधार ल्याउन आग्रह गरिन् ।

कार्यक्रममा सहभागी अधिकाँशले विद्यालय उमेरका बालिकाहरु साइबर अपराध समेत भोग्न बाध्य भएको बताए ।

कार्यक्रमका सभाअध्यक्ष तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्यानिटरी प्याडको क्वालिटि नभएको विषयमा गुनासो आएकोले त्यसलाई तत्काल फिर्ता गराउन नगर स्वास्थ्य शाखालाई निर्देशन दिइन् ।

नगरका बालबालिकाको समस्या समाधानका लागि नगरपालिकाले योजना बनाएको भन्दै उनले गर्भपतन गर्नुपर्ने अवस्था नै आउन नदिने खालका कार्यक्रमको तयारी गरिएको बताइन् ।