एमालेको घोषणा : महिनावारी हुने उमेरका सबै महिलालाई वार्षिक १५ सय दिइने

काठमाडौं । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलालाई वार्षिक १५ सय रुपैयाँ उपलब्ध गराउने भएको छ।

आगामी चुनावका लागि घोषणापत्र मंगलबार सार्वजनिक गर्दै एमालेले आफ्नो नेतृत्वमा सरकार बने स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक रुपमा १५ सय रुपैयाँ दिने घोषणा गरेको हो।

एमालेले ६० वर्षमाथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने पनि घोषणापत्रमा उल्लेख गरेको छ। कडा, असाध्य रोगहरूको उपचार पनि निःशुल्क गर्ने एमालेको घोषणा छ। अधिकार सम्पन्न ‘राष्ट्रिय प्रत्यायन प्राधिकरण’ (नेशनल एक्रिडेशन अथोरिटी) बनाइ स्वास्थ्य सेवाको नियमन गर्ने उल्लेख गरिएको छ।

आफूहरूले शिलान्यास गरेको पाँच, दश र पन्ध्र शय्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्न गर्ने संकल्प घोषणापत्रमा गरिएको छ ।

सुरु गरेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्याका अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५ सय शय्याका विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्ने घोषणा पनि एमालेले गरेको छ।

काठमाडौं उपत्यकामा ३ सय शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य एमालेले सार्वजनिक गरेको छ।

जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण सम्पन्न गर्ने एमालेको संकल्प छ।