प्रदेश सरकारद्वारा मुगुका आगलागी पीडितलाई राहत

सुर्खेत । मुगुको गमगढीका आगलागी पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । गएको सोमबार राति छाँयानाथ नगरपालिका १ गमगढी बजारमा भएको आगलागीबाट भएका पीडितलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार राहत लिएर गमगढी पुगेका थिए । आगलागी पीडितका लागि लत्ताकपडा र टेन्ट वितरण गरिएको हो ।

मुख्यमन्त्री शाहीसँग आगलागी पीडितले उचित राहत र आवास निर्माणमा सघाउन माग राखेका थिए । आगलागीबाट भएको क्षतिको विवरण आइसकेपछि आवास तथा अन्य राहतको प्याकेज ल्याउने मुख्यमन्त्री शाहीले आश्वासन दिएका छन् । स्थानीय प्रशासनको सिफारिसमा थप राहत उपलब्ध गराउने उनले बताए ।

आगलागीबाट २६ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २५ घरको ३५ करोड ८९ लाख ४२ हजार एक सय ७० रुपैयाँ बरारबरको क्षति भएको  र थप विवरण संकलन भइरहेको प्रहरीको भनाई छ । भाडामा बस्ने ५६ जना व्यक्तिले आगलागीबाट क्षति भएको विवरण  दिएको कार्यालयले जानकारी दिएको छ ।