
रामचन्द्र बस्नेत (भास्कर) । डोल्पामा पर्यटकिय क्षेत्रका प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँहरु रहेका छन् । प्रचारप्रसारको कमी र सामान्य पर्यटकिय सेवा सुबिधा को अभावका कारण धेरैजसो गन्तव्य ओझेलमा नै रहेका छन् । ओझेलमा परेको पर्यटकिय स्थलहरुलाई चिनाउने प्रयासमा छन् डोल्पाका भास्कर बस्नेत र रुकुमकी सिर्जना सिजु ।
साइकल यात्री भनेर चिनिएका भास्कर र सोलो ट्राभलर भनेर चिनिएकी सिर्जनाले डोल्पा चिनाउने प्रयास गरेका हुन् । उनीहरुको अभियानमा साथ दियो जगदुल्ला गाउँपालिकाले पनि ।
नेपालका ठुला हिमाल मध्यको गांगचेंन मेरी रालवा , काञ्जिरुवा हिमाल (उतर दक्षिण ,पूर्व) डाँफे हिमाल , सिज़्ज़ु हिमाल , टाँगटुङ्गे हिमाल, आम डोल्मा हिमाल समेत डोल्पामा पर्दछन् ।

गांगचेंन मेरी रालवा
लादाङ्ग नजिकै करिब ५५०० मिटर को उचाईमा एउटा हिमाल छ । जस्को नाम आज सम्म नामकरण गरिएको थिएन । जग्दुल्ला ताल (४७०० मि.) एक्सपोलर गर्न जगदुल्ला गाउँपालिकाले जग्दुल्ला गाउँपालिका वडा नं १ र वडा नं ६ का वडा अध्यक्षहरुलाई खटाएको थियो । टुङ्टुङ्ग पाटनमा बस्ने स्थानियहरुसंगको समन्वयमा रुकुमकी सिर्जना सिज्जु (सोलो ट्राभलर ) को नाम बाट त्यस हिमालको नाम सिज्जु हिमाल राखिएको छ ।

हिमालको फेँदीमा एउटा ताल पनि रहेको छ। जसको नाम लतांग ताल हो । डोल्पामा अथाह पर्यटकीय क्षेत्र रहेको जिल्ला हुँदाहुदैपनि पर्यटकले चिन्न र अवलोकन गर्न भने पाएका छैनन् ।
जग्दुल्ला गाउँपालिका माझगाउँबाट करिब ४० किलोमिटर हिँडेपछि जगदुल्ला अर्थात् प्रेम ताल पुग्न सकिन्छ । जगदुल्ला गाउँपालिकामा पर्ने ६ हजार मिटर भन्दा अग्ला आधा दर्जन हिमालहरुले घेरिएको गोलो आकारको जगदुल्ला ताल र राक्षस दह (प्रेम ताल) हाल तिर्थस्थलका रुपमा मात्रै चिनिने गरेको पाइन्छ ।

यसलाई प्रेम ताल भनिनुको कारण हेर्दा पान आकारको देखिने भएकोले यसलाई प्रेम ताल भनेर नामकरण गरिएको हो । नामकरण गर्ने समयमा सोलो ट्राभलर सिर्जना सीज़ु , साइकल यात्री भास्कर बस्नेत र जगदुल्ला गाउँपालिकाले पालिकोको तर्फबाट दुईवटा वडाबाट खटाएका वडा नं १ का वडा अध्यक्ष सेरबहादुर लामा, वडा नं ६ का वडा अध्यक्ष हिमाल रोकाय लगाएतको पर्यटन प्रचारप्रसार टिमले गरेको हो ।

डोल्पामा धेरै हेर्न र घुम्न लाएक पर्यटकिय स्थलहरु छन् । पुराना संरचना, संस्कृति लगाएत हिमाल तथा विभिन्न तालहरु डोल्पामा रहेका छन् । यसको प्रचारप्रसारको कमीकै कारण डोल्पामा पर्यटकहरु भित्राउन सकिएको छैन । कर्णालीलाई चिनाउने पहिलो प्रयास डोल्पाबाट गरिएको छ ।


फरकबाटो १३ कार्तिक २०७९, आईतवार १४:५३