सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगको कार्यालय सुर्खेतले सोमबार ३१ औँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको हो । आयोगको कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख भेषराज रिजालले एक कार्यक्रमकाबिच वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन् ।
उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले आयोगले दिएका सुझावहरु पालना गर्न प्रदेश सरकारलाई सचेत गराउने बताए । मुलुकको सुशासन र विकासविरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनिकरण गर्न आयोगको महत्वपूर्ण भूमिका समेत रहेको भन्दै उनले सक्रिय भएर लाग्न आयोगलाई आग्रह गरे । उनले भने, ‘आगामी दिनमा आयोगले अझै आफ्नो सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गरेर काम गर्ने छ भन्ने अपेक्षा लिएको छु ।’
कार्यक्रममा निमित्त प्रमुख रिजालले आयोग सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । उक्त आर्थिक वर्षमा कर्णालीमा एक हजार दुई सय २० उजुरी परेकोमा पाँच सय ७३ फछ्र्यौट भएको र बाँकी छ सय ४७ उजुरी बाँकी रहेको उनले जानकारी गराए ।
उनले बाँकी उजुरी आ.व.२०७८/०७९ मा सरिआएको बताए । उनले दुई सय २८ उजुरी बिस्तृत अनुसन्धानमा रहेको र त्यस मध्य ३१ वटा टुंगिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताए ।
प्रतिवेदनमार्फत सरकारबाट गरिने नितिगत निर्णय स्पष्ट गर्नुपर्ने, सरकारी निकायका प्रमुखलाई उत्तरदायी गराउनुपर्ने, विद्युतीय शासनको अधिकतम अभ्यास गर्नुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्नेलगायतका सुझावहरु दिईएको छ ।
फरकबाटो २९ कार्तिक २०७८, सोमबार २०:३७