तिनदिने बाख्रा पालन तालिम सम्पन्न

सुर्खेत । अन्तरनिर्भर समाज सुर्खेतको आयोजनामा तिनदिने बाख्रापालन तालिम सम्पन्न भएको छ । युएनडिपी तथा गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग र कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र कर्णाली प्रदेशको प्राविधिक सहयोगका तालिम सम्पन्न भएको हो ।

गुर्भाकोट नगरपालिका वडा नं ५ लेकवेतेनीका २५ जना बाख्रा पालक किसानहरुलाई तालिम दिइएको हो । बाख्रा पालन गरिहेका तर तालिम प्राप्त नगरेको किसानहरुको छनौट गरी तालिम प्रदान गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिए ।

हाल तालिम मात्रै नभई किसानहरुलाई बाख्रा वितरण लगाएत अन्य सहयोग समेत संस्थाले गरेको उने बताए ।

निर्मला बाख्रा पालन तथा कृषि फर्म सञ्चालन गर्दै आएका गुर्भाकोट नगरपालिका ५ सुर्खेतका चेतबहादुर पौडेलले तालिम लिएपछि आफ्नो व्यवसाय अझै फस्टाउने बताए । ३७ वटा बाख्रा पाल्दै आएका उनले हालसम्म कुनैपनि तालिम नलिएको बताए । उनले तालिमबाट बाख्राको जात चिन्ने, रोग पत्ता लगाउने, बाख्राको दानातयार गर्ने लगाएतका थुप्रै कुरा सिक्न पाएको बताए ।

सोही ठाउँकी सरिता उपाध्ययले समेत अन्तरनिर्भरले तालिमको अवसर दिएकोमा धन्यबाद दिँदै तालिमपछि व्यवसाय झनै बढाउने आँट आएको बताईन् । गुर्भाकोट ५ मा शिवशक्ति कृषि तथा पशुपालन फर्म सञ्चालन गर्दै आएकी उनले तालिमबाट धेरै कुरा सिकेको बताईन् ।  तालिम आज सम्पन्न भएको हो ।