काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबीको रेखामुनि रहेको जनसंख्या आठ वर्षमा ५ प्रतिशतभन्दा तल र वि.सं. २१०० सम्ममा शून्यमा झार्ने लक्ष्य लिई काम गरिरहेको बताएका छन्।

३० औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा सोमबार शुभकामना दिँदै प्रधानमन्त्री देउवाले ०८३ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने र २०८७ भित्रै दिगो विकासका लक्ष्य प्राप्त गरी नेपालीको आयस्तरमा सुधार भई मध्यम आय स्तरमा भएको मुलुकमा रूपान्तरित हुने अपेक्षा लिएको बताएका छन्।
उनले नेपाल सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको बताएका छन्।
मुलुकभरका गरिब घर परिवार पहिचान गर्दै गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गरी राज्यद्वारा प्रदत्त सेवा सुविधालाई सोही परिचय पत्रसँग आबद्ध गर्ने र विपन्न परिवारको संरक्षण गरी गरिबीको रेखाबाट बाहिर ल्याउने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
सरकारले तत्काल भूमिहीनता र सुकुमवासी समस्या समाधान गरी भूमिहीन दलित, गरिब किसान र सुकुम्वासी परिवारलाई न्यूनतम जग्गाको व्यवस्था गर्ने कार्यक्रमलाई अघि बढाइएको उनले बताएका छन्।

फरकबाटो ३१ आश्विन २०७९, सोमबार ११:२७