उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय, चुनाव चिह्न आजै दिइने

सुर्खेत । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्ने छन् ।

उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आजै सार्वजनिक गर्नेछ ।

आयोगले दिउँसो १ बजेदेखि ३ बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको थियो ।