प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार रुपैयाँ


सुर्खेत यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

चुनावी खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गरेका हुन् । उनले निर्वाचनमा २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए ।

प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए ।