निर्वाचन आयोगद्वारा उम्मेदवारको चुनाव चिह्र हेरफेर

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्न मध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ।

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरेको हो।  चिह्न भने उही रहेको छ। निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको आयोगले जनाएको छ।

उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम संख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची—३० को खण्ड (क) मा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि राखिएको स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचनमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। हेरफेर गरिएको निर्वाचन चिह्नसहितको पूर्ण विवरण आयोगको वेभ साइटमा हेर्न सकिने छ।

यस्ता छन् परिवर्तन भएका चुनाव चिन्ह