प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहने भएको छ।

उनको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएपछि डडेल्धुराबाट प्रतिनिधिसभामा देउवाले दिएको उम्मेदवारी कायमै रहने भएको हो।

उजुरीमाथि छानबिन गर्दा निवेदकको दाबी नपुगेकाले मनोनयन स्वीकृत गर्ने निर्णय भएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको उनले बताए।

 ‘उम्मेदवारविरुद्ध परेको उजुरीका छानबिन गरेका थियौं। तर, निवेदकको दाबी पुगेन। प्रिन्ट मिस्टेक सामान्य गल्ती भएको हो,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री देउवाज्यूको मनोनयन स्वीकृत गर्ने निर्णय भएको छ।’

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्ममिति फरक भएको भन्दै उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा.आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका थिए। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको थियो।

देउवाको नागरिकतामा जन्ममिति वि.सं.२००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख छ। देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए।

२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका उनी २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका छन्।