जिल्ला अस्पताल कालीकोटमा डेन्टल सेवा सुरु

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा डेन्टल सेवा सुरु भएको छ । अस्पतालले डेन्टल सेवा पनि थप गरेर सेवा दिन सुरु गरेको हो ।

सुरुका दिनमा बिरामीले जानकारी नपाएका कारणले छिटफुट मात्र दाँतका बिरामी आए पनि पछिल्लो समयमा दैनिक १० देखि १५ जनाको दरले डेन्टल सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

डेन्टल विभागका प्रमुख डा. रोहित गुरुङले दैनिक सेवा लिनेहरुको संख्यामा वृद्धि भइरहेको बताए । आफूले दैनिक अहिले सरदरमा १५ जना बिरामीलाई सेवा दिने गरेको उनले जानकारी दिए । आगामी दिनमा अरु थप एक जना चिकित्सकको आवश्यकता रहेको उनको भनाई छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डा. रत्नवीर सुनारले अस्पतालले डेन्टल सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको बताए । उनले थप जनशक्ति व्यवस्थापनका लागि संघ र प्रदेशमा कुरा भइरहेको जानकारी दिए ।