काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हाे ।

गएकाे भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएकाे बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो ।
दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।
सोमवार जिल्ला अदालत काठमाण्डौले असोज २० गतेदेखि लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैँको भोलिपल्ट नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
काठमाण्डौको गौशालामा रहेको एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

फरकबाटो २४ आश्विन २०७९, सोमबार १६:१५