लगातारकाे वर्षाले जुम्लामा ५ दिनदेखि खानेपानी, बिजुली, टेलिफोनलगायतका सेवा बन्द

जुम्ला । लगातारको वर्षाले जुम्लामा गएको पाँच दिनदेखि खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट लगायतका सेवा बन्द भएको छ ।


वर्षासँगै आएको बाढी र पहिरोका कारण चिमारामा खानेपानीको पाइप चुडिएको छ भने चट्याङका कारण नेपाल टेलिकमको जुम्ला सदरमुकामको मुख्य कार्यालयको ओडीयू सेट बिग्रिँदा टेलिफोन सेवा बन्द भएको छ । टेलिफोन बन्द हुँदा विपद्को सूचना लिनसमेत कठिन भइरहेको छ ।

ओडीयू सेटमा क्षति पुगेसँगै टेलिकमको इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकम जुम्लाका निमित्त प्रमुख पदमराज महताराका अनुसार ओडीयू सेट काठमाण्डौबाट ल्याउने तयारी गरे पनि मौसम खराबीले जहाज आउन नसकेको बताए ।

यसैगरी वर्षाका कारण पोलमा क्षति पुग्दा बिजुली सेवासमेत बन्द भएको छ । लगातारको वर्षाले कर्णाली राजमार्गको एक दर्जन बढी ठाउँमा सडक पनि बन्द भएको छ । जुम्ला खण्डको गाडगडेनीमा ठूलो पहिरो खस्दा पाँच दिनदेखि यातायात सेवा बन्द भएको हो ।