सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त


सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको हिजोको बैठकले विश्वासको मतका लागि पेश गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेश गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेश गरेको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या बहुमत भएकाले मुख्यमन्त्रीले पेश गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

हिजोको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।

नेपाली कांग्रेसका १८ नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिएका थिए ।

नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी) पार्टीका (निलम्बित एक सदस्यबाहेक) तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिएका थिए ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिएका छन् । त्यस पार्टीका अन्य ६ जना सदस्य भने बैठकमा अनुपस्थित थिए ।

यसअघि प्रस्ताव पेश गर्दै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसूस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेश गरेको बताए ।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गएको असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी निलम्बित छन् ।