भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी

भारतसँगको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । मोहालीमा गएराति भएको खेलमा घरेलु टोली भारत अष्ट्रेलियासँग ४ विकेटले पराजित भयो ।

जितसँगै ३ खेलको टी–२० श्रृंखलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । भारतले दिएको २ सय ९ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका क्यामरुन ग्रीनले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । भारतका हार्दिक पाण्डेय र केएल राहुलले अर्घशतकीय पारी खेले । पाण्डेयले अविजित ७१ रन तथा राहुलले ५५ रन जोडे । अष्ट्रेलियाका नाथन एलिसले ३ तथा जोश हाजलउडले २ विकेट लिए । दुई देशबीचको दोस्रो टि–२० पर्सि शुक्रबार र तेस्रो तथा अन्तिम टि–२० आइतबार हुनेछ ।