भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’बारे अहिलेको सरकारले निर्णय गर्दैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ बारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने स्पष्ट पारेको छ ।

बिहीबार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनै पनि निर्णय नगर्ने जानकारी गराएको हो। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्था भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन्।​

अग्निपथको बारेमा नयाँ आउने सरकारले निर्णय गर्ने उनको भनाइ छ। सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती शुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिब ३० हजार नेपाली सेवारत छन्।

प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाती राखेको बताउँदै यो विषय राजनीतिक दलहरूसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन्।

प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैँअघि पूर्ण रुपमा नाका सञ्चालन हुने पनि बताइन्। उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँअघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन्।

उनले उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको बताइन्।