बहराइनसँग नेपालको फराकिलो हार

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो ।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे । खेलको २० औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए ।

नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो । खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता २-० को बनाए । खेलको ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइनलाई ४-० को अग्रता दिलाए । ८८ औं मिनेटमा अब्दुल्लाले  व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६-० को जित दिलाए ।

यस जितसँगै समूह ‘बी’ को बहराइनले पहिलो जित निकालेको छ ।  बहराइनले २ खेलमा ४ अंक जोडेको छ । नेपाल अंक विहीन रहेको छ ।  पुछारमा रहेको नेपाल प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

पहिलो खेलमा नेपाल भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३-१ गोल अन्तरको हार व्यहोरेको थियो ।

अब नेपालले अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।