आहा रारा गाेल्डकप आजबाट, उद्घाटनमा सहारा र एपिएफ भिड्ने

पोखरा । बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आज बिहीबारबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । यस खेलको विजेताले अन्ति आठमा बिवाइएसी मिनेसोटा युएसएसँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ ।

स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले बताए । प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।