जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेलको घोषणा

सुर्खेत । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । समझदारी अनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ ।

नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख छ ।

जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुबै दलबाट कुनै हवीप नलाग्ने समझदारी पनि भएको हो ।

जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी समेत भएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।