प्रचण्डलाई प्रधानमन्त्रीमा २ सय ६८ सांसदको मत, विपक्षमा जम्मा २ मत


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज मङ्गलवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा दुई सय ६८ मत खसेको हो । त्यस्तै उनको विपक्षमा दुई मत खसेको छ । आज दुई सय ७० सांसद उपस्थित थिए ।

आज मङ्गलवार प्रतिनिधि सभामा भएको मत विभाजनअनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत प्राप्त गरेका हुन् ।

दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिएका हुन् ।

यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत नदिएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।