भारतीय सेना प्रमुख आज नेपाल आउँदै

सुर्खेत । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्।

नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् ।

उनी नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ ।

दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान गरिसकेका छन् । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने चलन छ ।