आज शिवरात्रि मनाइँदै

सुर्खेत । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ ।

आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।