कृषिमा बढ्दै युवाको आकर्षण , गुराँसमा फस्टाउँदै किवि खेती


सुर्खेत । पछिल्लो समय कृषिमा युवाको आकर्षण बढ्दै गएको छ । कृषिमा पनि किवि खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको हो ।

जिल्लाको भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर सामुहिक किवी खेती सुरु गरेका हुन् । कर्णालीका युवाहरुले गुराँस गाउँपालिका ७ लालिकाँडा दैलेखमा कर्णालीकै ठूलो किवि फार्म सञ्चालनमा ल्याएका छन् ।

समृद्ध कर्णाली एग्रो फार्म प्रालिको नामबाट उक्त फार्मले किविसहित अन्य फलफुल खेती गर्न सुरु गरेको हो ।

‘नेपालमै नयाँ प्रजातीको एलिसान किविको आठ सय विरूवा रामेछापबाट ल्याई हामीले फार्म सन्चालन गर्न लागेका हौं, किविसँगै जापानिज हलुवाबेद र विभिन्न जातका नास्पतीलगायतका फलफूलहरु फार्ममा छन्,’ सञ्चालक सदामसिंह राठौरले भने, ‘किवि फलको बजार पश्चिम नेपालको विभिन्न सहरहरूमा राम्रो सम्भावना रहेको छ ।’

उनले कम्पनीको ९० रोपनी भन्दा बढी जग्गा भएपनि तत्कालका लागि ५० रोपनीमा मात्रै किविका ८ सय विरुवा रोपिएको र अरू जग्गामा चाँडै फलफूलको बगैंचा विस्तार गर्ने जनाए ।

हाल फार्मले मल्टिफार्मिङ्ग गर्ने सोचका साथ इलामबाट अकबरे खुर्सानीको बिरूवा र बिउ ल्याएर खेती गरिएको उनले सुनाए । हाल बारीमा लटरम्म किवि फलेको र अकबरे खुर्सानी बिक्रीवितरण तयार भएको फर्मका संचालक सदामसिंह राठौरले बताए ।

मध्य तथा उच्च पहाडमा उत्पादनको हिसाबले अत्यन्तै सफल मानिने किवि फलको कर्णालीको जाजरकोट, रूकुम, सल्यान र दैलेखमा केहि वर्ष यता खेती गरिँदै आइएको छ । फार्ममा १ करोडभन्दा बढी लगानी भएको अर्का सन्चालक सम्राट डि.सी. बताउँछन् । ‘अहिलेसम्म १ करोड भन्दा बढी लगानी भइसकेको छ । अबको केहि वर्षमा उत्पादन सुरु हुन्छ र त्यो लगानी उठ्नेमा म ढुक्क छु ।’

अझै किवि लगायतका फलफुलको बगैंचा थप गर्ने, किविका विरूवाको नर्सरी बनाउनेदेखि भण्डारणका लागि चिस्यान घर र बजारीकरणका लागि अन्य योजनाहरू बनाइरहेको जानकारी दिदै सदाम थप्छन््, ‘लकडाउनको बन्दाबन्दीमा पर्दा कृषि व्यवसाय सम्बन्धी योजना बनाएको हुँ । जन्मजात कृषक नभए पनि आफुलाई निजामतीसेवा सँगै सफल कृषक, उद्यमी र व्यवसायीको रूपमा स्थापित गर्न चाहन्छु ।’

कृषि व्यवसाय, उत्पादन र बजारीकरण विना देशको समृद्धि सम्भव नभएको भन्दै उनले फरक फरक धारका तर एउटै सोच र विचार भएका यूवाहरू कृषि व्यवसायमा होमिएको उनले सुनाए ।
कर्णालीमा कृषि व्यवसाय सन्चालनका लागि ठूलो मात्रामा जग्गा प्राप्ति गर्न जटिल रहेको र जग्गा प्राप्ति गरे पनि भाडामा लिन झन कठिन रहेको उनको गुनासो छ । यसका अलावा फार्म संचालनको क्रममा बाटोघाटो, सिचाईं, बिरूवाका संरक्षण र रेखदेख लगायत समस्या खेप्नु पर्ने उनी बताउँछन् ।

कम्पनीले ९० रोपनी जग्गा खरिद गरेको छ भने २२ रोपनी जग्गा भाडामा लिएको सुनाउँदै अन्य जग्गा खरिद तथा सम्झौताका लागि प्रकृया अगाडि बढेको राठौर बताउँछन् ।

संघ, प्रदेश र स्थानीय सरकारले कृषिमा आधारित विभिन्न किसिमका योजनाहरू संचालन गरेता पनि किविको व्यवसायिक खेतिले कर्णालीका पहाडी जिल्लाका जनताहरूको जीवनस्तर उठ्ने सम्भावना हुँदाहुँदै पनि सरकारले किवि खेतीको सम्बन्धमा ठोस कदम नचालेको उनको गुनासो छ ।

‘विशेषगरी कृषिसँग सम्बन्धित युवा उद्यमी र व्यवसायीहरूलाई हतोत्साही हुन नदिन प्याकेजमा विभिन्न किसिमका योजनाहरू बनाउन जरूरी रहेको उनी सुनाउँछन् ।

सरकारले कृषि पेशामा आवद्ध साना ठूला व्यवसायीहरूलाई लक्षित गरि फार्मको संरक्षण र संवर्द्धन, बाटो, पानी, वत्ती, सिँचाई, भण्डारणका लागि चिस्यान घरसाधनमा सहुलियत र बजारीकरणमा सहकार्य गर्न आवश्यक भएको उनको तर्क छ ।
जाजरकोट घर भई हाल निजामती सेवामा रहि कर्णाली प्रदेशमा कार्यरत रहेका सदामसिंह राठौर र समाजसेवा सँगै यूवा राजनीतिमा रहेका दैलेखका खेमराज बिसी, सम्राट डि.सी. लगायतका यूवाहरूको सहकार्यमा यस कम्पनी दर्ता गरी काम सुरु गरिएको हो । ।

हालसम्मको प्रगति हेर्दा संतोषजनक भएको र तत्काल फार्ममा उत्पादन भएको अकबरे खुर्सानी बिक्रीवितरण गर्दै आएको साथै सुर्खेतमा अचार उत्पादन कम्पनी स्थापना गरि अचार बिक्रीवितरण समेत गर्दै आएको सदाम बताउँछन् ।