गुराँसका यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई बाख्रा पालन सम्बन्धी तालिम र बाख्रा वितरण


दैलेख । गुराँस गाउँपालिकाका यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई बाख्रा पालन सम्बन्धी तालिम तथा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । गुराँस गाउँपालिकाको आयोजनामा सञ्चालित दुई दिने तालिमको हिजो समापन गरिएको हो ।

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई माशिक दुईहजारका दरले भत्ता दिने गरिएको भएपनि उक्त भत्ताले जिवनयापन गर्न गाह्रो हुने गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले बताए । उनका अनुसार सानै भएपनि व्यवसायीकतामा जोडिन सके दिगो रुपमा आर्थिक आम्दानी हुने र आर्थिक संकट व्यहोर्न नपर्ने भएकोले व्यवसायमा उक्त समुदायलाई सहभागी बनाइएको हो

यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको माग बमोजिम नै बाख्रा वितरण कार्यक्रम राखिएको अध्यक्ष वि.सीले बताए । उनीहरुको व्यवसायलाई थप बढवा दिनका लागि आगामी आर्थिक वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष वि.सीले सुनाए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको दुईलाख बजेटमार्फत गत फागुन महिनामा व्यवसायीक योजना बैठक बसी उक्त बैठकमा सहभागीहरुले बाख्रा पालन योजना तयार गरेअनुसार नै दुईदिने बाख्रा पालन सम्बन्धी व्यवसायीक तालिम र बाख्रा वितरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले जानकारी दिइन् ।

उनीहरुलाई आगामी आर्थिक वर्षका लागि विनियोजन गरिने बजेटमा समेत समेटिने र गाउँपालिकाभित्र हुने रोजगारका कार्यक्रममा योग्यता अनुसार प्राथमिकतामा समेत राखेर अगाडी बढाउने उनले सुनाईन् ।

गुराँस गाउँपालिकाले विशेषगरी लैगिंक समानता तथा सामाजिक समावेशीकरण क्षेत्रलाई संरक्षण गरेर आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणको समेत तयारी गरेको उपाध्यक्ष खड्काले बताईन् ।

गाउँपालिकाका पाँचजना यौनिक तथा लैगिंक अल्पसंख्यकहरुलाई खरी र बारबरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाका पशु चिकित्सक डा. रोशनराज बहादुर सिंह ठकुरीले जानकारी दिए । साथै तालिम पश्चात् संरक्षक ( अभिभावक) सहित ९ सदस्यीय गुराँस यौनिक तथा लैगिंक अल्पसंख्यक समुह समेत गठन गरिएको छ ।

दुई दिने बाख्रा पालन सम्बन्धी व्यवसायीक तालिममा गुराँस गाउँपालिकाका पशु चिकित्शक डा.रोशनराज बहादुर सिंह ठकुरी र गाउँपालिकाका नायब पशुस्वास्थ्य प्राविधिक देवेन्द्रबहादुर भण्डारीले प्रशिक्षण गरेका थिए ।