समितिले सोधपुछ गर्न बोलायो चोलेन्द्रलाई

काठमाडौं ।  महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोधपुछका लागि बोलाउने भएको छ।

आज बसेको बैठकले भदौ १५ गते जबरालाई बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले थाहाखबरलाई जानकारी दिए।

मंगलबार बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको थियो। समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ।

प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो। बैठकमा मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित कार्यतालिकाको समय छोट्याएर​ भदौ २५ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने धारणा राखेको थियो।

२०७८ फागुन १ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्न २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो। समितिले जबराको विषयमा अध्ययन गर्ने जिम्मेवारी साउन २२ गते पाएको थियो।