‘सेतो पुर्जा भएकालाई लालपुर्जाको मालिक बनाउने पहिलो प्राथमिकता’

स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना पुगेको छ । प्रत्येक पालिकाले आफ्नो वडाको लागि बजेट विनियोजन गरिसकेका छन् । आफ्नो वडाको समग्र विकासका लागि वडाका जनप्रतिनिधिहरूले के–कस्ता काम गरिरहेका छन् र गर्ने योजना बनाएका छन् ? जनताका समस्यालाई कति नजिकबाट बुझेका छन् र अबको पाँच वर्ष भित्र आफ्नो वडामा कसरी काम गर्छन् ? यसै विषयमा केन्द्रित रहेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष डिलबहादुर रखालसंग फरकबाटोकर्मी ललिता विश्वकर्मा ओडले गरेको कुराकानीको सम्पादित अंशः

आजभोली के काममा व्यस्त हुनुहुन्छ ?

वडाबासीको समस्या सुन्ने, समाधान गर्ने र कार्यालयको दैनिककी काममा नै व्यस्त छु । वडाबासीका सामाजिक कार्यमा पनि निमन्त्रणा गर्नु हुन्छ त्यसमा सरिक हुने र कार्यालयमा हुने दैनिक क्रियाकलापमा व्यस्त भएको छु ।

भखरै नेतृत्वमा आउनु भएको छ, जनतासंग खुसी बाँड्न जानु भयो त ?

चुनाव पहिले लगभग वडाको सबै बासिन्दासंग भेट गरे । वडाबासीसंग दुःख सुख बाँड्ने काम दैनिक जसो गरिरहेकै छु । अबका पाँच वर्षसम्म जनतासंग दुःख सुख बाँड्ने काम भइरहनेछ ।

तपाईको वडाको मुख्य समस्या के–के देख्नु भयो त ?

यहाँको मुख्य समस्या भनेको पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि ,सुकुम्बासी, फोहोर व्यवस्थापन, बेरोजगारीका समस्या रहेका छन् । पहिले देखि नै वडाबासीका समस्यालाई बुझ्दै आएको छु । अझै बुझ्ने प्रयास मा छु । उहाँहरूको विश्वास अनुसार उहाँहरूको समस्यालाई बुलन्द गर्ने छु ।

समस्या समाधानको लागि के योजना बनाउनु भएको छ ?

नगरपालिकाले वडाको लागि एक करोड ५० लाख छुट्याइएको बजेट अनुसार रहेर काम गर्ने हो । पालिकाले रातो किताब निकालेको छ । त्यहि किताब अनुसार काम गर्नु पर्ने हुन्छ । भौतिक पूर्वाधारको लागि ९७ लाख ५० हजार छुट्याएका छौं । वडालाई धूलो हिलो रहित बनाउने योजना छ । चार–चार मिटर जग्गा दुई पक्षबाट लगत कट्टा गर्ने, खानेपानीको लागि चार डिब बोरिङ बजेटिङ भएको छ । बेरोजगार समस्या समाधानको लागि स्वरोजगार गराउन सीप विकास कार्यक्रम जस्तै अटो रिक्सा, मोटर रिपेरिङ, इलेक्ट्रोनिक मध्यका तालिम दिने, अतिविपन्न युवाहरुलाई लोक सेवा तयारी गर्ने भनेर बजेट छुट्याइएको छ ।

महिला, अपाङ्ग, बालबालिका र दलित लक्षित कार्यक्रममा, स्वास्थ्य तर्फ अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य जाँच र औषधि उपलब्ध गर्ने, मोतिबिन्दु लागेकालाई शल्यक्रिया गर्ने गरेका छौं ।

शिक्षा अन्तर्गत प्रत्येक विद्यालयमा अतिरिक्त शिक्षामा रहेर लागू औषध दुव्र्यसनी सम्बन्धी जनचेतामूलक कार्यक्रम गर्ने गरेका छौं । यस वडामा ६ वटा सामुदायिक स्कूल छन् । निजी श्रोतबाट शिक्षकको लागि भनेर एक लाख दिने गरी बजेट छुट्याएका छौं ।

कृषिको क्षेत्रमा आधुनिक मेसिनहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने छौं र बीउबिजन हरु कृषकलाई उपलब्ध गराउने योजना छ ।

सुकुम्बासी समस्यालाई कसरी समाधान गर्नु हुन्छ ?

यस वडामा ३०–३५ प्रतिशत सुकुम्बासी जनताहरु हुनुहुन्छ । हाम्रो पहिलो ध्यान भनेको यो समुदायमा छ । उहाँहरुलाई लगत लिएर अघिल्लो सरकारले गरेको रिपोर्टिङको आधारमा सुकुम्वासी समस्या समाधान आयोगमा दर्ता गरी उहाँहरूसंग सेतो लालपुर्जा छ । उहाँहरुलाई रातो लालपुर्जा नगरपालिकाको समन्वयमा दिनेछौं ।

लैङ्गिक हिंसा, बालविवाह घरेलु हिंसा समस्या समाधानको लागि के पहल गर्नु भएको छ ?

सामाजिक विकास अन्तर्गत १५ लाख बजेट विनियोजन गरिएको छ । त्यसकै आधारमा टोलटोलमा बहुविवाह लागू औषध दुव्र्यसन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने छौं । बालविवाह न्यूनीकरण बजेट छुट्याएका छौं ।

अबको छ महिनामा भित्र तपाईंले के काम गर्दै हुनुहुन्छ ?

दैनिक जसो गरिने वडाको काम गरिरहनेछु । विशेष त भदौको महिना देखि नै २० औं वर्ष देखि सेतो लाल पुर्जा समातेर बसेकाहरुलाई जग्गा मालिक बनाउने छौं । यो हाम्रो पहिलो काम हुनेछ ।

बजेटमा के कुरालाई प्राथमिकता दिनु हुन्छ ?

पहिलो त पूर्वाधार नै छ । त्यसपछि सुकुम्बासी, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, महिला ,बालबालिका, अपाङ्ग, सामाजिक क्षेत्रका कामहरू र जनताको माग अनुसारको कामलाई प्राथमिकता दिने छु ।

अबको पाँच वर्षको तपाईंको योजना के रहेका छन् ?

पालिकाले निकालेको रातो किताब अनुसार स्थानिय सरकारको नीति नियममा आधारित रहेर मेरो पाँच वर्ष कार्यकाललाई बिताउने छु । मेरा र जनताका योजनामा तटस्थ भएर काम गर्ने छु । वडामा आवश्य पर्ने सम्पूर्ण कामको लागि दिनरात खट्नेछु । यिनै पूर्वाधारका कामलाई मेरो पहिलो फोकस हुने छ ।

अन्त्यमा के भन्नु हुन्छ ?

जसरी मलाई विश्वास गरेर जिताउनु भयो । अझ पनि मलाई काम गर्ने क्रममा साथ सहयोग गर्नु हुन्छ भन्ने आशा छ । मेरा वडाबासीलाई यही मीडिया मार्फत धन्यबाद दिन चाहन्छु ।