सामाजिक विकास समितिको सक्रियता कायमै

निर्देशन कार्यान्वयनको अवस्था बुझ्न समिति नियमित अनुगमनमा

सुर्खेत । कर्णाली प्रदेश सभा सामाजिक विकास समितिको सक्रियता कायमै रहेको छ । समितिका बैठकहरुबाट सरकारलाई दिएको निर्देशन कार्यान्यनको अवस्था बुझ्न समिति अनुगमनमा सक्रिय भएको हो ।

मंगलबार समितिले कर्णाली प्रदेश अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) र डेङ्गी संक्रमण व्यवस्थापनको पुर्वतयारीबारे अनुगमन गरेको छ ।

यस्तै २०७८ साल असार १५ गते बसेको सामाजिक विकास समितिको ९० औं बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशलाई आपुर्ती व्यवस्थापन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो ।

सोही बमोजिम स्थापना भएको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रको समेत समितिले अनुगमनगरी निर्देशन दिएको छ ।

यस्तै कोभिड संक्रमणको समयमा शव व्यवस्थापनको लागि मृतकका परिवार आँफैले शव व्यवस्थापन सामाग्री किन्नुपर्ने अवस्था र महामारीमा शव व्यवस्थापनमा समस्या भएको समयमा समेत समितिले अस्पतालले नै शव व्यवस्थापन गर्नुपर्ने निर्देशन दिएको थियो ।

साथै अक्सिजनअत्याधिक अभाव भएपछि अस्पतालले कोभिडका बिरामी भर्ना नलिने सुचना जारी गरेपछि नागरिकको स्वास्थ्य उपचार प्राप्त गर्ने मौलिक अधिकार हनन् गर्न नहुने भन्दै तत्काल सेवा दिन र अक्सिजन प्लाण्ट जडान गर्न सम्बन्धित मन्त्रालय मार्फत अस्पतालाई निर्देशन दिएको थियो ।

सोही बमोजिम प्रदेश अस्पतालमा हाल अक्सिजन प्लाण्ट जडान गरिएको र दिनमा २४ वटा बढी सिलिण्डर भर्ने काम भएको र पाइपलाइनबाट समेत अक्सिजन बेडमा जडान गरिएको अस्पतालले जानकारी दिएको छ ।

समितिका सभापति देवी ओलीले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रबाट नागरिकहरु बञ्चित हुन नहुने र औषधिजन्य बस्तुहरु मागअनुसार समयमै खरिद गरेर उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएकी छन् ।

‘अहिले डेङ्गीको संक्रमण बढेको छ ।, उनले भनिन् “यो समयमा डेङ्गी पहिचानका लागि किट र अन्य स्वास्थ्य सामाग्रीको पुर्वतयारी गर्नुहोस् ।” उनले आपुर्ती केन्द्रमा रकमको समस्या भए वा अन्य कुनै बाधा भए समितिले सरकारलाई निर्देशन दिने भन्दै नागरिकले स्वास्थ्य सामागी्र नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएकी हुन् ।

यस्तै सभापति ओलीले प्रदेश अस्पतालका डायालायशिसका बिरामी, ल्याब, अक्सिजन प्लाण्ट, प्रसुति वार्ड, लगाएतमा अनुगमन गरी आवश्यक सुझाव समेत दिएकी छन् ।

‘हाम्रो समितिले सरकारलाई निर्देशन मात्रै दिँदैन, उनले थपिन्“ निर्देशन बमोजिम काम भए नभएको र भएको कामको अवस्थाबारे समेत अनुगमन गर्ने गरेको छ ।”

समितिको बैठकबाट गरिएको निर्णय र दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाबारे अनुगमन र थप निर्देशन समेत दिने गरिएको समितिका सचिव राजेन्द्र पौडेलले बताएका छन् ।

उनले समितिले दिएका निर्देशनमा निरन्तर अनुगमन गर्दा कामको प्रभावकारीता बढ्ने र नागरिकले निरन्तर सेवा प्राप्त गर्ने भएकोले यसो गरिएको बताए ।

गत श्रावण २ गते स्थापना भएको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्यजन्य सामागी्रहरु समेत आपुर्ति गर्न थालिसकेको छ । केन्द्रका निर्देशक डा. शक्ति प्रसाद सुवेदीले कार्यालय स्थापना गरी पहिलो चरणमा प्रदेश अस्पताललाई डेङ्गि पहिचान कित ३ सय र दुल्लु अस्पताललाई ३० र कालिकोटलाई ५० किट उपलब्ध गरिएको जानकारी दिए ।

जिल्लाहरुबाट स्वास्थ्यजन्य सामागी्रहरुको समेत माग आउन थालिसकेको उनले सुनाए । १७ जनाको दरबन्दि रहेको कार्यालयमा १५ जना कर्मचारी रहेको र कामको थालनी गरेको उनले बताए ।

स्वास्थ्यजन्य सामाग्रिहरु एकद्धार प्रणालीबाट जाँदा सस्तो पर्ने र समयमै उपलब्ध समेत हुने उनले बताएका छन् ।

युएनडिपीको संसद सहयोग परियोजनाले समेत संसदिय समितिहरुलाई सक्रिय बनाउन सहयोग गरिरहेको संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत क्यारिना श्रेष्ठले जानकारी दिइन् ।

मंगलबार समितिको अनुगमनमा सामाजिक विकास समितिका सभापति देवी ओली, समितिका सचिव राजेन्द्र पौडेल, संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत क्यारिना श्रेष्ठ, संसद सचिवालयका कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।