कर्णालीमा ७ लाख १५ हजारलाई पूर्ण खोप


सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म सात लाख बढीले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । खोप अभियान सुरु भएको एक वर्षको अवधिमा कर्णालीमा सात लाख १५ हजार ७१२ जनाले पूर्ण खोप लगाएका हुन् ।

गत वर्ष माघ १४ गतेदेखि कर्णाली प्रदेशमा खोप अभियान सुरु भएको थियो । सुरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई खोप दिइएको थियो । अहिले धेरै नागरिक खोपको पहुँचमा पुगेका छन् । कर्णालीमा कोभिडशिल्ड, भेरोसेल, मोडर्ना, फाइजर खोप लगाइएको छ । सरकारले नागरिकहरुलाई निशुल्क खोप लगाउँदै आएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा पहिलो मात्रा खोप लगाउनेको संख्या आठ लाख ६५ हजार ६१२ रहेको छ । ११ वर्ष माथिका उमेर समूहहरुलाई खोप लगाइएको हो । निर्देशनालयका सुचना अधिकारी पदम केसीले कर्णालीमा १४ लाख १० हजार १८२ जना लक्षित समूह मध्ये ५१ प्रतिशतले पूर्ण खोप लगाएको जानकारी दिए । उनका अनुसार ६१ प्रतिशत पहिलो मात्रा खोप लगाएका छन् ।

पछिल्लो समय बुष्टर डोज दिन समेत थालिएको छ । कर्णालीमा ११ हजार ६०३ जनाले अहिलेसम्म बुष्टर डोज लगाएका छन् । पछिल्लो समय खोपप्रति आकर्षण बढ्दै गएको छ । खोपका लागि जनचेतना जगाउने काम भइरहेको उहाँले बताए । पछिल्लो समय प्रदेशका सबै जिल्लामा खोप लगाउने कार्यक्रम चलिरहेको जानकारी दिए । बालबालिकाका लागि विद्यालयमै गएर खोप लगाइएको उनको भनाई छ ।

कोरोना संक्रमणको तेस्रो लहर आएसँगै फेरी कोरोना संक्रमणको दर बढेको छ । कर्णालीमा करिब दुई हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दो भएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य अपाउन स्वास्थ्यकर्मीहरुको सुझाव छ । खोप लगाए पछि संक्रमण भए पनि गम्भिर बिरामी हुनबाट बचाउने भएकाले खोप अनिवार्य लगाउनुपर्ने केसीले बताए   ।

अहिले सार्वजनिक ठाउँहरुमा जान अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ । उनले अहिले पछिल्लो समय सार्वजनिक कार्यालय तथा निकायहरुमा जाँदा खोप कार्ड अनिवार्य गरे पछि खोप लगाउने आकर्षण बढेको जानकारी दिए ।