हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडी । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सुत्केरी व्यथा लागेकी बिन्दुलाई सोमबार बिहान साढे ११ बजे थलाकाडाबाट हेलिकप्टरमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि सोमबार हेलिकप्टरबाट उद्धार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उनलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो।

आइतबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्‍याउन ४ घण्टा बोकेर लैजानुपर्ने र सो समयसम्म अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले सुविधासम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।