जोर्नी प्रत्यारोपणपछि फर्कियो दिपाको खुशी

सुर्खेत । कालिकोटको शुभकालीका गाउँपालिका ८ मुङग्राहाकी दिपा महतरा घरमाथिबाट खसेको ढुङ्गा लागेर घाइते भइन् । उनको कम्मर र दाहिने खुट्टाको जोर्नीमा गहिरो चोट लाग्यो । महिला स्वास्थ्य स्वयम् सेविका समेत रहेकी दिपालाई उपचारपछि निको त भयो तर पहिले जसरी हिँडडुल गर्न उनी सकिनन् ।

२०७४ साल साउन महिनाको ठूलो झरीले उनको खुशी खोस्यो । ‘घर नजिकैको पोखरी पहिरोले पुरियोकी भन्दै हेर्न गएकी थिएँ ’ उनले सुनाईन् “ एक्कासी माथिबाट आएको ढुङ्गा लाग्यो ।” गाउँघरमा स्वास्थ्य सन्देश दिँदै र उपचारमा सहयोग गर्दै आएकी दिपा चोट लागेपछि घरमै थन्किनुपर्ने अवस्थामा पुगिन् ।

पहिलो चोट निको नहुँदै पुन २०७७ साल पुस महिनामा उनी शौचालय जाँदा लडिन् । फेरी उनलाई पहिले चोट लागेकै ठाउँमा चोट लाग्यो । अब उनी ओछ्यानबाट उठन् नसक्ने अवस्थामा पुगिन् ।

उपचारका लागि उनलाई काठमान्डौंको न्युरो अस्पतालमा लगियो । करिब तिन लाख भन्दा बढि नै खर्च भयो तर उनको उपचार सफल हुन सकेन । त्यसपछि दिपाका निराशाका दिन सुरु भए । ओछ्यानमा लडेदेखी दिपाका आँखा कहिल्यै ओभाना भएनन् ।

दिपा निको भएर हिड्ने अपेक्षामा बसेको पाँचवर्ष पुग्दा समेत कतै उपचार नपाएपछि निराश भएर बसेकी थिईन् । सामान्य रुपमा हिड्ने सपना मारेर बसेकी दिपाले प्रदेश अस्पताल सुर्खेतमा हाडजोर्नी प्रत्यारोपण हुने कुरा जानकारी पाएपछि उपचारका लागि भर्ना भईन् ।

गत कात्र्तिक ११ गते उनको कम्मर र दाहिने खुट्टाको हड्डि (हाडजोर्नीको प्रत्योरोपण) सफल भयो । पाँचवर्षको प्रतिक्षापछि दिपाको खुशी फर्कियो ।

‘घरदैलोमै उपचार भयो’ दिपाले खुशी हुँदै भनिन् “ यसरी हिडौंला भन्ने सोचेकै थिइन् ।” सुरुमा दिपालाई काठमान्डौंमा नभएको उपचार सुर्खेतमा के होला ? भन्ने लागेको थियो । तर प्रदेश अस्पताल सुर्खेतका निर्देशक सहितको डाक्टरहरुको टिमले उपचार सफल हुने विश्वास दिलाएपछि उनी शल्यक्रियाका लागि राजी भएकी हुन् ।

दिपाले स्वास्थ्य बिमा समेत गरेकी थिइन् । उपचार सामाग्रीमा लाग्ने खर्च बाहेकको खर्च अस्पतालले नलगेको दिपाले सुनाईन् ।
यता अस्पतालका निर्देशक डा. डम्बर खड्काले कार्यालय समय बाहेक शुल्क लिएर समेत सेवा दिएको र न्युन आय भएकाहरुलाई भने निशुल्क उपचार गरेको जानकारी दिए । कर्णाली प्रदेश अस्पतालले जटिल खालका शल्यक्रिया सुरु गरेदेखी बिरामीको संख्या दोब्बर जस्तै भएको बताए ।

‘बाहिर उपचार गरे पाँचलाख भन्दा बढि खर्च हुन्छ’ । उनले भने “हाडजोर्नी प्रत्योरोपण सामान्य अप्रेशन होइन ।” उनले प्रदेश अस्पतालमा भौतीक संरचना, अप्रेशन सामाग्री र जनशक्ति समेत भएकोले यस्तो खालको जटिल शल्यक्रिया सम्भव भएको सुनाए ।

यो सेवालाई निरन्तर दिने भन्दै डा. खड्काले कर्णाली प्रदेश अस्पताललाई हेल्थ टुरिजम्का रुपमा विकास गर्न खोजेको बताए । कर्णालीमा पहिलो पटक सफल भएको हाडजोर्नी प्रत्यारोपण सेवा बुटवल यता  भने थिएन ।

बुटवल र काठमान्डौं लगाएतका ठूला अस्पतालमा हाडजोर्नी प्रत्यारोपण सेवा भएपनि कर्णालीमा भने  पहिलो पटक सुरु गरिएको हो । कर्णालीका नागरिकका लागि बाहिर गएर उपचार गर्न खर्चिलो भएको डा. खड्काले बताए ।

निकट भविष्यमा मुटु सम्बन्धि शल्यक्रिया समेत सञ्चालन गर्न सकिने उनले बताए । जनशक्ति अभाव हुँदा समेत जटिल खालका अप्रेशन गरि नागरिकको जिउधन बचाउन सफल भएको उनले सुनाए ।

कर्णाली प्रदेश सरकारले रिक्त रहेको १ सय ३७ दरबन्दि पुरा गर्न सकेको खण्डमा कर्णाली प्रदेश अस्पताल नमुना अस्पतालको रुपमा विकास हुने उनको भनाई छ । अस्पतालले अन्य सेवालाई समेत सुधार गर्दै लगेको उनले बताए ।

प्रदेश अस्पताल सुर्खेतले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि दिपा संगै दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी एकजना महिलाको समेत सफल अप्रेशन भएको जानकारी दिएको हो ।