कविराम र कर्णबहादुरको नागरिकता सच्चियो

दैलेख । भगवतिमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले आफ्नै नामबाट नागरिकता पाएका छन्। पञ्चायत कालमा नागरिकतामा ‘कुकुर’ कामी नाम

उल्लेख गरिएका उनलाई जिल्ला प्रशासन कार्यालय दैलेखले आज कविराम कामीको नामबाट नागरिकता जारी गरेको हो। गृह मन्त्रालयले नागरिकतामा अपमानजनक नाम भएका व्यक्तिको नाम सच्याउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई केहि दिन अघि निर्देशन गरेसँगै यहाँको भगवतिमाई–३ का कविराम कामी र सोही गाउँपालिकाका ठगे कामीलाई सम्मान जनक नामबाट आज नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

नागरिकता ऐन, बमोजिम नागरिकतामा भएका सामान्य त्रुटीहरू प्रमुख जिल्ला अधिकारीलाई सच्याउने अधिकार बमोजिम दुवै जनाको नाम नागरिकतामा परिवर्तन गरीएको प्रजिअ प्याकुरेलको भनाई छ। उनीहरू दुवै जनाको पुरानो नागरिकता जिल्ला प्रशासनमा राखेर नयाँ नागरिकता जारी गरिएको प्याकुरेलले बताए।

गृहको निर्देशन अनुसार नाम सच्याउन आएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय दैलेखले छिटो प्रक्रियाबाट गाउँ सर्जमिन मुचुल्का, प्रहरी सर्जमिन मुचुल्का, विद्यालयमा अध्ययन रहेका प्रमाण पत्रका आधारमा दुवै जनालाई बिहीबार नागरिकता प्रदान गरिएको हो।

पुरानो नागरिकतामा ठगे कामी नाम भएका व्यक्तिलाई स्थानीय विद्यालयमा अध्ययन गरेको प्रमाण पत्रका आधारमा कर्णबहादुर विक नाम राखेर नयाँ नागरिकता जारी गरिएको छ भने पुरानो नागरिकतामा कुकुर कामी नाम उल्लेख गरिएका व्यक्तिलाई कविराम कामीको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।

नागरिकतामा अपहेलित नाम भएकै कारण लामो समय समाजमा अपहेलित हुदै आएका दुवै जनाले नयाँ नामबाट नागरिकता पाएपछि खुसी व्यक्त गरेका छन्।

उनीहरुले ढिलै भएपनि नागरिकतामा नाम सच्याउन पाएकोमा सरकारलाई सरकारलाई धन्यवाद दिए। नामकै कारण समाजमा अपहेलित भएका व्यक्तिहरूलाई नाम सच्याउन जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि सूचना जारी गरेर नाम सच्याउन आउन आग्रह गरेको थियो।