आमिर खान र अक्षय कुमारका फिल्ममाथि भारी भयो सानो बजेटको साउथको कार्तिकेय–२

काठमाडौं । दक्षिण भारतीय फिल्मले पुन बलिउडलाई पछारेको छ । यसपटक फिल्म र त्यसको कमाई सानै भए पनि त्यसले अक्षय कुमार र आमिर खानजस्ता बलिउडका स्तरलाई पछि पारेको छ, जुन चानचुने कुरा होइन ।

तेलुगु भाषाको फिल्म कार्तिकेय–२ लाल सिंह चड्डा र रक्षा बन्धन रिलिज भएको दुई दिनपछि अगस्ट १३ मा रिलिज भएको थियो । आमिर खान र अक्षय कुमारको फिल्मको अगाडि सो फिल्म मुस्किलले टिक्न सक्ने विश्वास गरिएको थियो र कार्तिकेय २ को ओपनिङले पनि त्यस्तै सङ्केत गरेको थियो ।

फिल्मको हिन्दी संस्करणको पहिलो दिनको कमाई जम्मा ७ लाख भारु थियो । जबकि लाल सिंह चड्डा र रक्षा बन्धनले पहिलो दिन क्रमशः ११।५ करोड भारु र ८ करोड भारु कमाएका थिए । तर पहिलो दिनबाट यी दुई फिल्मको कमाई घट्दै यो भने कार्तिकेय २ को कलेक्सन बढ्दै गयो ।

अहिले फिल्म रिलिज भएको एक हप्तापछि कार्तिकेय–२ ले लाल सिंह चड्डा र रक्षा बन्धनलाई उछिनेको छ ।

उत्तर भारतमा फ्यान बेस नभएका स्टारबिनै सफल

फिल्मले ७ दिनमा कुल ८।२१ करोडको व्यापार गरेको छ, र सातौँ दिन अर्थात हिजो अगष्ट १९ को कमाई २।४६ करोड भारु छ ।

जबकि हिजोको लाल सिंह चड्डा र रक्षाबन्धनको कमाई डेड करोड भारु तल झरेको छ ।

अझ रोचक कुरा के भने कार्तिकेय–२ का अभिनेता निखिल सिद्धार्थ र अभिनेत्री अनुपमा परमेश्वरन हिन्दी भाषा बोलिने उत्तर भारतमा त्यति परिचित कलाकार होइनन् ।

उत्तर भारतका दर्शकमाझ परिचित अनुपम खेर फिल्मका एक मात्र अनुहार हुन्। तैपनि कथा, चित्रीकरण र अभिनयका आधारमा चलचित्रले राम्रो कमाइ गरिरहेको छ । फिल्म द्वारका, कृष्ण र पौराणिक कथामा आधारित छ ।

कार्तिकेय–२ को कारोबार दिनप्रतिदिन बढ्दै छ

अगस्ट १३ शनिबार रिलिज भएको कार्तिकेय २ को ओपनिङ कलेक्सन जम्मा ७ लाख थियो । त्यतिन्जेलसम्म लाल सिंह चड्डा र रक्षाबन्धनको कलेक्सन घट्न थालेको थियो र दुवै फिल्मलाई दर्शकबाट नकारात्मक प्रतिक्रिया आएको थियो ।

त्यसको फाइदा कार्तिकेय–२ ले पायो । अक्षय कुमार र आमिर खानका फिल्मका शो रद्द हुन थालेको फाइदा कार्तिकेय–२ लाई भयो ।

जहाँ कार्तिकेय–२ पहिलो दिन ५० स्क्रिनमा मात्र रिलिज भएको थियो, त्यही फिल्मले तेस्रो दिनमा एक हजार स्क्रिन पाएको थियो ।

उता फिल्म रिलिज भएको नवौँ दिनमा लाल सिंह चड्डाले बल्ल बल्ल ५१ करोड भारु कमाएको छ भने रक्षाबन्धनले ३८ करोड मात्र सङ्कलन गरेको छ । दुवै फिल्म फ्लप मानिएका छन् ।

त्यसमध्ये पनि १०८ अर्ब भारु बजेटमा बनेकाले लाल सिंह चड्डाले निक्कै ठूलो घाटा बेहोरेको छ । त्यस्तै रक्षा बन्धनको बजेट ७० करोड भारु बताइएको छ भने कार्तिकेय–२ यी दुई भन्दा सानो बजेटको फिल्म हो, जसको बजेट ३० करोड भारु रहेको बताइएको छ ।