काठमाडौं । भदौ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘माइकल अधिकारी’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसार समेत तिब्र बनाएको छ ।

यस्तैमा निर्माण युनिटले बुधबार एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ । ३ मिनेट १९ सेकेन्डको सार्वजनिक ट्रेलरमा श्रीमान्–श्रीमतीको भूमिकामा रहेका सौगात मल्ल र सृष्टि श्रेष्ठ देखिएका छन् ।
ट्रेलरमा कमेडी, प्रेमकथाले प्रथामिकता पाएको छ । सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार लगायतको अभिनय छ । रन्जित रौनियारको निर्देशन रहेको फिल्मले शहरमा संघर्षरत एक जोडी कथा समेत देखाउन खोजेको छ ।
फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।

फरकबाटो ४ श्रावण २०७९, बुधबार १७:४५