फिल्म ह्यारीकी प्यारी को गीतमा रेखा थापाको नृत्य

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकीय फिल्म ह्यारीकी प्यारीको गीत सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको पहिलो गीत धरहरा सार्वजनिक गरिएको हो। सपनकुमार राई र मीना निरौलाको स्वर रहेको गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्।

डाक्टर भोला रिजालको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् भने संगीत संयोजन उदयराज पौडेलको छ। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री थापासँगै अभिनेता जितु नेपाल र विजय बराल पनि फिचर्ड छन्।

कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले लामो समयपछि अतिथि भूमिकामा भए पनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन्। पछिल्लो समय आफू अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले फिल्ममा फर्किन समय लागेको बताइन्।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र विजयसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्लीराम खनाल, रमेश अधिकारीलगायतको अभिनय छ।

फिल्मको कथा निर्देशक रिजाल स्वयंले तयार पारेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर लेखेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुँदैछ।