चन्द्रमामा फेरि मानव लैजाने गरी नासाको विशाल रकेट तयार : परीक्षण उडान अगस्ट २९ मा गर्ने तयारी

अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानिस पठाउन निर्माण गरेको रकेट प्रक्षेपणको तयारी थालेको छ ।

स्पेस लन्च सिस्टम (एसएलएस) नामको रकेटलाई फ्लोरिडामा रहेकाे केनडी स्पेस सेन्टरमा रहेको ‘प्याड–३९ बी’ मा लगिएको छ ।

झन्डै सय मिटर अग्लो एसएलएसलाई ठूलो ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको बीबीसीले जनाएको छ । त्यहाँबाट रकेट अबको दश दिनपछि अर्थात अगस्ट २९ मा पहिलो पटक उड्नेछ ।

त्यो परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ ।

यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । आउँदो डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो–१७ अभियानको ५०औँ वार्षिकोत्सव मनाउन लागेको छ ।

नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ । नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ ।