प्रचण्ड भन्छन्, पार्टी बिग्रियो, पहिलेजस्तो रहेन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा विचलन देखापरेको स्वीकार गरेका छन्।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीवार आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसमा प्रचण्डले पार्टीमा अहिले क्रान्तिकारी नै बाँकी नरहेको बताए। ‘पार्टी पहिले जस्तो रहेन। धेरै नै बिग्रेको छ। व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखिएको छ’, उनले भने, ‘हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ।’

प्रचण्डले पार्टीका नेताका मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण र दैनन्दिनमा नरहेको दाबी गरे। ‘पार्टीमा भनाइ र गराइमा ठूलो अन्तर देखा परिसकेको छ’, उनले भने, ‘व्यक्तिवादी चरित्रलाई हटाउन नसके क्रान्तिकारी हौँ भन्ने कुराको औचित्य समाप्त हुन्छ।’

अध्यक्ष प्रचण्डले अब पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे। उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्न आवश्यक रहेको बताए। ‘पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्छ’, उनले भने।