आप्रवासी दिवसका अवसरमा विद्यार्थीहरुसँग अन्तरक्रिया


सुर्खेत । आप्रवासी दिवस २०२५ का अवसरमा वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिवसका अवसरमा सम्ताहव्यापी कार्यक्रम गर्ने उदेश्य बमोजिम जनसेवा माध्यामीक विद्यालय वीरेन्द्रनगर १० घुस्रा र अमरज्योती माध्यामीक विद्यालय वीरेन्द्रनगर १२ मा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा करिब दुई सय विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

 वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्झने दिनका रूपमा हरेक वर्ष डिसेम्बर १८ तारीखमा यो दिवस मनाउने गरिन्छ । आप्रवासी दिवस भनेको आप्रवासी  (माइग्रेन्ट) हरूको अधिकार, योगदान र समस्याबारे सचेतना फैलाउन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। रोजगारी, शिक्षा वा अन्य कारणले आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने मानिसहरू (आप्रवासी) का अधिकारको सम्मान उनीहरूले समाज र अर्थतन्त्रमा दिएको योगदानको कदर आप्रवासीले भोग्ने समस्या (श्रम शोषण, असुरक्षा, भेदभाव आदि) प्रति ध्यानाकर्षण गर्न पनि यो अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस संयुक्त राष्ट्र संघ (UN) ले सुरु गरेको हो। सन् २००० डिसेम्बर ४ मा संयुक्त राष्ट्र संघको महासभाले निर्णय गरेर सन् २००१ देखि हरेक वर्ष डिसेम्बर १८ मा मनाउन सुरु गरिएको हो।

दिवसकालागि डिसेम्बर १८ नै किन ?

सन् १९९० डिसेम्बर १८ मा संयुक्त राष्ट्र संघले आप्रवासी कामदार र तिनका परिवारका अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अपनाएको दिन हो।  वीरेन्द्रनगर नगरपालिका सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) को स्थापना गरि सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सुचना तथा परामर्शका साथै कानूनी सहायता र सिपसँग सम्बन्धित सुचनाहरु समेत दिइराखेको छ । साथै समुदाय, विद्यालय तथा अन्य सरोकारवाला निकायहरुसँग समेत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने गरेको वीरेन्द्रनगर नगरपालिका रोजगार संयोजक मोहनप्रसाद पौडेलले जानकारी दिए ।