
सुर्खेत । बच्चा जन्माएको एक घण्टामा कर्णालीका ४० प्रतिशत आमाले बच्चालाई स्तनपान गराउने गरेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको एम.आई.सी.एस सर्वे २०१९ अनुसार कर्णालीमा ४० प्रतिशत आमाहरुले बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने गरेको जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार बच्चालाई स्तनपान गराउनेको संख्या कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा राम्रो रहेको छ । यसमध्येमा पनि कर्णालीका ग्रामीण र शहरी क्षेत्रको तथ्याङ्क छुट्टाछुट्टै छ । जन्मिएको एक घण्टाभित्र शिशुलाई दुध खुवाउने आमाको संख्या ग्रामीण क्षेत्रमा ६९ प्रतिशत छ भने शहरी क्षेत्रमा ५८ प्रतिशत रहेको निर्देशनालयले जानकारी दिएको छ ।
समग्र नेपालको अवस्था भने एम.आई.सी.एस सर्वे २०१९ अनुसार जन्मिएको एक घण्टाभित्र शिशुलाई दुध खुवाउने आमाको संख्या ग्रामीण क्षेत्रमा ४० प्रतिशत छ भने शहरी क्षेत्रमा ४३ प्रतिशत रहेको छ ।
शिक्षाको हिसाबले हेर्ने हो भने निरक्षर आमा ४६ प्रतिशत, आधारभूत शिक्षा ४३ प्रतिशत, माध्यामिक तह अध्ययन गरेका आमा ३९ प्रतिशत र उच्च शिक्षा हासिल गरेका ३७ प्रतिशत आमाले स्तनपान गराउने गरेको पाइएको छ ।
कर्णाली प्रदेशको सन्दर्भमा छ महिनामा सम्म आमाको दूध खाने बच्चा एम.आई. सी २०१४ को सर्वेक्षण अनुसार ५८ प्रतिशत रहेका थिए । २०१९ मा यो संख्या बढेर ६८ प्रतिशत पुगेको निर्देशनालयले दिएको तथ्याँकमा उल्लेख छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार नेपालमा भने ४२ प्रतिशत आमाहरुले मात्र आफ्नो शिशुलाई जन्मिएको एक घण्टाभित्र दुध खुवाउँछन्। यस्तै विश्वव्यापी मान्यताअनुसार जन्मिएको जन्मिएको ६ महिनासम्म आमाको दुधमात्र खुवाउनेको संख्या पनि कर्णालीमा ६८ प्रतिशत छ भने २ बर्षसम्म निरन्तर आमाको दुध खुवाउनेको संख्या ८९ प्रतिशत छ । यो संख्या नेपालका अरु प्रदेशको तुलनामा बढी हो ।
यस्तै निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा दुधदानीबाट दुध खुवाउनेको संख्या १२ प्रतिशत मात्र छ। दुधदानीबाट आमाको वा अन्य दुध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन। कर्णाली प्रदेशमा दुधदानी (बोटल फिडिङ) पनि अरु प्रदेशको तुलनामा कम रहेको निर्देशनालयले जनाएको छ ।
अरु प्रदेशमा यो संख्या १२ प्रतिशत भन्दा बढी रहेको समाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कम्युनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीले जानकारी दिईन् ।
सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखा कम्युनिटी नर्सिङ्ग अधिकृत कविता खत्रीका अनुसार पछिल्लो समयमा छ महिना सम्म स्तनपान गराउने आमाहरुको संख्या घट्दै गरेको छ । यसको कारण महिलाहरु रोजगारीमा आवद्ध हुनु रहेको उनले बताईन् ।
निर्देशनालयले ‘स्तनपानलाई बढाउँन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं’ भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह–२०२२ साउन १६ गते देखि २२ गतेसम्म सञ्चालन गरेको थियो । उक्त विषयमा जानकारी दिनका लागि निर्देशनालयले आइतबार सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गदै स्तनपान सम्बन्धी जानकारी समेत दिइएको थियो ।

ललिता विश्वकर्मा ओड २६ श्रावण २०७९, बिहीबार २०:१४