राष्ट्रपतिमा एमालेले नै उम्मेदवारी दिन्छ : नेम्वाङ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवारी दिने बताएका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएको बुझाई रहेकाले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन्।

राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहेको उनले बताए। नेम्वाङले यस विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा मान्न नहुने र एमालेको उम्मेदवारमाथि नै राष्ट्रिय सहमति खोज्ने नै भएको जिकिर गरे।

त्यस्तै उनले रवि लामिछानेमाथिको अदालतको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने टिप्पणी गरे।कानूनबमोजिम जो कोहीमाथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रूपमा दिन नहुने उनको भनाइ छ। नेम्वाङले नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने बताए।