एमाले समन्वय कमिटी बैठकका पाँच निर्णय

सुर्खेत । नेकपा एमाले सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको बैठक शनिवार बसेको छ । वीरेन्द्रनगरस्थित जिल्ला पार्टी कार्यालयमा बसेको समन्वय कमिटी बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

जसअनुसार भदौ पहिलो सातासम्म पालिका कमिटीका बैठकहरु गरिने भएको छ । त्यस्तै, भदौ २० सम्म वडा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने, समन्वय कमिटीको सचिवालय गठन गर्ने र पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई बिजय गराउने अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

समन्वय कमिटीको बैठकलाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत सह–इञ्चार्ज मोहनमाया ढकालले सम्बोधन तथा निर्देशन गरेका थिए ।