एकीकृत समाजवादीले सरकारमा सामेल हुने/नहुनेबारे लिन सकेन निर्णय


सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सामेल हुन वा नहुनेबारे अँझै निर्णय लिन सकेको छैन । आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा धेरैजसो नेताहरूले सरकारले देश र नागरिकको हितमा ल्याउने कार्यक्रमलाई हेरेरमात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए ।

पार्टीभित्र सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने अभियानलाई अघि बढाउने निर्णय पनि पोलिटब्युरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।