
सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोख्रेलले पाँचदलिय गठबन्धनको कुनै उदेश्य नभएको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेश समितिले शनिबार आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले दृष्टिकोण र विचार नमिल्ने पार्टीहरु स्वार्थका लागि मात्रै एक भएको बताएका हुन् ।
‘गठबन्धनको देश विकास गर्ने भन्दापनि एमाले सक्ने उदेश्य हो’ उनले भने“ नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको सरकारले नेपाली जनताको आकाक्षा पुरा गर्न सक्दैन । गठबन्धनबाट राष्ट्र बनेको कतै देखिँदैन ।”
शेरबहादुर देउवाको गठबन्धनको राजनिति राष्ट्रलाई अगाडी बढाउने यात्रा नभएको उनले सुनाए । विकास र सम्बृद्धीको यात्रामा बाधा र व्यवधान खडा गर्नका लागि गठबन्धनको राजनिति सुरु भएको समेत उनले तर्क गरे ।
‘नेपाली काँग्रेसले एउटा विचारको प्रतिनिधित्व गर्छ ’ उनले थपे “अर्को विचारको प्रतिनिधित्व नेपालका बामपन्थीहरुले गर्छन् । त्यसको अभिभावक नेकपा एमाले हो । सोही अनुसार नेकपा माओबादीसंग एकता गरि निर्वाचनमा गएका हौं ।” तर यो गठबन्धन बिचार नमिल्ने पार्टीहरुको झुण्ड र स्वार्थ बोकेको झुण्ड भएको उनले तर्क गरे ।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज यामलाल कँडेलले नेकपा एमाले नै देश विकासको विकल्प भएको बताए । विवेकशिल साझा पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहाल सहित प्रदेशभरका ८ सय ६२ जना नेकपा एमालेमा प्रवेश गरेकोप्रति इंकित गर्दै कँडेलले अब कर्णालीमा एमालेमा प्रवेश गर्नेहरुकाले लहर चल्ने ठोकुवा गरे ।
कर्णाली प्रदेशमा विवेकशिल साझा पार्टी सहित करिब ९ सय बढी नेकपा एमालेमा प्रवेश गरेको पार्टीका प्रदेश अध्यक्ष गोपाल शाहले जानकारी दिए । उनका अनुसार ८ सय ६२ विवेकशिल साझा पार्टी र अन्य नेपाली काँग्रेस, एकिकृत समाजबादी र नेकपा माओबादीको नेता तथा कार्यकता प्रवेश गरेका हुन् ।
विवेकशिल साझा पार्टी डोल्पा जिल्लाबाट २ सय ७३ जना, सुर्खेतबाट २ सय ५१ जना, जुम्लाबाट १ सय ४१ जना, कालिकोटबाट ८० जना, मुगुबाट ५१ जना , जाजरकोटबाट ३० जना, दैलेखबाट २६ जना र रुकुमपश्चिमबाट १० जनाले पार्टी प्रवेश गरेका हुन् ।
विवेकशिल साझा पार्टीका प्रदेश संयोजक गेहेन्द्र दाहालले नेकपा एमालेमा प्रवेश गरेपछि बोल्दै आँफुले समाजबादको परिकल्पना बोकेको र त्यसलाई पुरा गर्न नेकपा एमालेले मात्रै सक्ने भएकोले आँफुले पार्टी प्रवेश गरेको बताए ।
उनले कर्णालीको मुहार फेर्न एउटा राम्रो नेतृत्व आवश्यक परेको र त्यसको लागि नेकपा एमाले एउटा राम्रो चौतारी भएको बताए ।

फरकबाटो ७ श्रावण २०७९, शनिबार १४:४०