मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसदमा पठाउने सरकारको तयारी


सुर्खेत । सरकारले मिटरब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसदमा पठाउने निर्णय गर्न लागेको छ । आज मङ्गलवार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले त्यो कानुनको मस्यौदालाई अन्तिम रूप दिई संसदमा पेस गर्न अनुमति दिने तयारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिएका थिए ।

सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी यससम्बन्धी कानुनको मस्यौदा तयार गरेको र त्यो विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी भएको हो ।

केही दिनदेखि काठमाण्डौमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहेका छन् ।