ओमानले दुई सयभन्दा बढी प्रकारका काममा आप्रवासी श्रमिक भर्ती नगर्ने

ओमानले अब दुई सय भन्दा बढी कामको लागि आप्रवासी श्रमिक भर्ती नगर्ने भएको छ । आफ्नो देशभित्र रोजगारीको क्षेत्रलाई ओमानीकरण गर्ने नयाँ रणनीतिसँगै यस्तो निर्णय गरेको हो ।

ओमानका श्रम मन्त्रीले निर्णय नम्बर २३५/२०२२ जारी गर्दै केही निश्चित व्यवसायमा आफ्ना नागरिक भर्ती गर्ने योजनाअनुरुप यो नियम चालेको गल्फ न्युजले जनाएको छ । यो निर्णयको सुरुमै आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध लगाइने तर करार अवधि नसकिएसम्म आफूले गरिरहेको काम भने गर्न मिल्ने उल्लेख छ । अब ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार बस ड्राइभर, सेल्समेन, स्टोर सुपरभाइजर, म्यानेजर लगायत दुई सय सात प्रकारका काममा विदेशी श्रमिक भर्ती नगर्ने गल्फ न्युजले जनाएको छ ।

यो निर्णय चाँडै नै राजपत्रमा सूचना प्रकाशित भएको पछिल्लो दिनदेखि नै लागू हुने जनाइएको छ । ओमानको शाही आदेश नम्बर ३५/२००३ र ८९/२०२० मा आधारित रहेर यस्तो निर्णय गरिएको हो । ओमानले पहिलेदेखि नै यसबारे अभ्यास गर्दै आएको थियो । सन् २०१८ मा पनि ओमान सरकारले विभिन्न १० क्षेत्रका ८७ प्रकारका कामको लागि आप्रवासी कामदार ल्याउन प्रतिबन्ध लगाएको थियो ।

सन् २०२२ मा आफ्ना ३५ हजार नागरिकलाई जागिर दिने ओमानको लक्ष रहेको छ । नयाँ भर्ती र आप्रवासीले गर्दै आएका काममा आफ्ना नागरिकलाई स्थानान्तरण गरेर रोजगारीमा लगाउने योजना रहेको छ ।