जलवायु परिवर्तनका कारण मध्यपूर्वमा खाद्यान्न र पानी अभावको उच्च जोखिम

जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभाव थप बढ्ने जोखिम रहेको प्रतिवेदन सार्वजनिक भएको छ । पानी र खाद्यान्नको अभाव तथा उच्च गर्मीको जोखिम रहेको ग्रीनपिसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

इजिप्टमा हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलनको केही दिनअघि प्रकाशित ‘लिभिङ अन द एज’ शीर्षकको प्रतिवेदन इजिप्ट, अल्जेरिया, लेबनान, मोरक्को, ट्युनिसिया र संयुक्त अरब इमिरेट्समा केन्द्रित छ । मध्यपूर्वमा विश्वको औसतभन्दा झण्डै दुई गुणा छिटो तापक्रम वृद्धि भइरहेको छ । जसले गर्दा खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका कारण अत्यन्त संवेदनशील बनेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा समेटिएका छ वटा देशका सबै क्षेत्रमा पानीको अभावको उच्च जोखिम हुने र यसले कृषि तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने समेत उल्लेख छ । खडेरी र पानीको अभावले अबको दशकमा बाली उत्पादनमा असर पार्न सक्छ । यसले खाद्यान्न आयातमा निर्भरता बढाउने देखिएको छ।

ग्रीनपीस रिसर्च लेबोरेटरिजका विज्ञान परामर्शदाता क्याथरिन मिलरले सन् १९८० को दशकदेखि मध्यपूर्व क्षेत्रमा प्रति दशक ० दशमलव ४ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको बताउनुभयो । खाडी क्षेत्रमा गर्मीमा तापक्रम ५६ डिग्री सेल्सियसभन्दा धेरै हुन सक्ने रिपोर्टमा उल्लेख छ।

इजिप्टमा आइतवारदेखि सुरु हुने संयुक्त राष्ट्र सङ्घको कोप–२७ जलवायु सम्मेलनअघि ग्रीनपिसको यो अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो । जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनमा झण्डै दुई सय देशका प्रतिनिधि सहभागी हुँदैछन् । गएको वर्ष स्कटल्यान्डमा कोप–२६ सम्मेलन भएको थियो।