श्रीलङ्काको सङ्कटकालीन अवस्था संसदबाट अनुमोदन

एजेन्सी । श्रीलङ्काको संसद्ले अनिश्चितकालीन सङ्कटकाललाई अनुमोदन गरेको छ । तत्कालीन कार्यवाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेले यसअघि घोषणा गरेको अनिश्चितकालीन सङ्कटकाल संसद्ले अनुमोदन गरेको हो ।

संसदमा हिजो भएको मतदानमा १ सय २० सांसदले सङ्कटकाल अनुमोदनको पक्षमा र ६३ जनाले विपक्षमा मतदान गरेका छन् । सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले घोषणा गरेका थिए ।

घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलङ्काको कानुनी प्रावधान रहेको छ । विक्रमासिङ्घे जुलाई २० मा भएको संसदीय मतदानबाट श्रीलङ्काको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।