कालिकोटमा हाइस दुर्घटना हुँदा एकको मृत्यु ११ जना घाइते

सुर्खेत । कालिकोटमा हाईस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार दिउँसो खाँडाचक्र ८ सिम्ले खोलामा हाईस दुर्घटना भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कालिकोट जिल्लाको सदरमुकाम मान्म देखी नाग्मबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दिउसो साढे ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा पचालझरना गाउँपालिका ५ का २० वर्षीय सह–चालक तुफान बम रहेको प्रहरीले जानकारी दिएको छ । चालक भने फरार रहेका छन् ।

कार्यालयका प्रहरी उपरिक्षक हिराबहादुर पाण्डेका अनुसार दुर्घटनामा परि घाइते हुनेहरुमा महावै गाउँपालिका ७ की २४ वर्षीय दर्शना परियार, निजकी छोरी १ वर्षीय युनिक परियार, सोही स्थानकी ५० वर्षीय रत्नकौला सुनार, खाँडाचक्र नगरपालिका ८ का ७० वर्षीय विष्णु प्रसाद चौलागाँई, सोही स्थानका २७ वर्षीय दिपेन्द्र परियार रहेका छन् ।

यस्तै खाँडाचक्र ८ कै २४ वर्षीय हस्तबहादुर मल्ल , सोही स्थानकी २० वर्षीय स्वस्तीका परियार, निजकी १ वर्षीय छोरी संस्कृती परियार , सोही स्थानकी २० वर्षीय निर्मला परियार , ३२ वर्षीय जनक परियार र तिलागुफा नगरपालिका ७ का २६ वर्षीय सुर्यबहादुर शाही घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रवक्ता पाण्डेले बताएका छन् ।
हाईसमा करिब २३ जना जती भएको र बाँकी सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।