
सुर्खेत । ‘खोलाको छेउमा सानो घर, संधैको बिरामी आमा, साना भाई–बहिनीको स्याहारसंगै आफ्नो पढाईलाई अगाडि बढाउन सजिलो छैन । गाउँलेले मिलेर बनाइदिएको टहरो छ तर गासको कुनै टुंगो छैन । बिहानै उठेर करिब १ घण्टा हिँडेर कलेज, दिउसोमा कम्प्युटर र साँझमा ट्युशन पनि भ्याउनै पर्छ ।’
यो वीरेन्द्रनगर नगरपालिका वडा नं २ सुर्खेतकी नन्दा रेग्मीको दैनिकी हो । उनको दैनिकी यतिले मात्रै टर्दैन । बिहान बेलुकीको छाकको चिन्ता र पढाई खर्चको चिन्ता पनि संगसंगै गर्नुपर्छ ।
कलेजमा खाजा खाएको अनुभव र साथीहरुसंग घुमेको अनुभव उनले गर्न पाएकी छैनन् । नत उनले रहर नै गर्छिन् । रमाउने उमेरमा भाइबहिनीको भोको पेट र पढाईको चिन्ता जो नन्दालाई छ ।
भैरव माध्यामीक विद्यालय वीरेन्द्रनगर ४ सुर्खेतबाट एस्. ई.ई. पास गरेकी उनको सपना थियो फरेष्ट्रि साईन्स पढ्ने । उनले फरेष्ट्रि साईन्सको फुलस्कलरसिपमा जुम्लामा नाम समेत निकालेकी हुन् । कलेजमा निशुल्क भएपनि पेटले निशुल्क गर्दोरहेनछ भन्दै उनले गहभरी आँशु बनाईन् ।
जुम्ला बसेर पढ्नको लागि आर्थिक अभाव भएकै कारण उनी अहिले भैरव मा.वी मै व्यवस्थापन संकाय पढ्दैछिन् ।
२०६१ सालमा जन्मिएकी नन्दा भर्खरै कक्षा ११ मा पढ्छिन् तर उनको जिम्मेवारी धेरै छ । बुवाको शेषपछि नन्दाले पढाईलाई सोचेजसरी अगाडि बढाउन सकेकी छ्रैनन् । यद्यपी पढ्न भने नछोड्ने उनको साहस छ ।
घरखर्च कसरी जुटाउँछिन् नन्दा ?
२०७४ सालसम्म नन्दाका दिन बुवाको साहारामा बितेका थिए । उनलाई कुनै कुराको चिन्ता थिएन । तर जब उनका बुवालाई २०७४ साल माघ १८ गते भारत जाने क्रममा कसैले हत्या गरिदियो नन्दाको लागि त्यो नै जिवनको कालो दिन बन्यो । नन्दाको साहारा गुम्यो र जिम्मेवारी उनकै काँधमा थपियो ।
नन्दाकी आमालाई पाठेघरको समस्या छ । गाह्र्रो काम खासै उनले गर्न सक्दिनन् । कहिलेकाँही घरमा खाना पकाइदिने बाहेक उनी प्राय ओछ्यानबाट उठ्दिनन् ।
बिदाको समय मिलाएर आफ्नो पढाई खर्च जुटाउन र पेटभर्नको लागि नन्दाले ज्याला मजदुरीको काम गर्छिन् । त्यति मात्रै होइन उनले घरमा केहीबाख्रा र केहिकुखुरा समेत पालेकी छन् । घरनजिकै रहेको जमिनमा उनले अधिँया तरकारी पनि लगाउँछिन् । यसैबाट आएको पैसाले दुईछाक र पढाई खर्च गर्ने गरेको उनी सुनाउँछिन् ।
उनी आँफैले घरको समस्या देखाएर कलेजमा निशुल्क पढ्ने वातावरण बनाएकी छन् । ट्युशन शुल्क समेत उनका लागि छुट भएको छ । भन्छिन् ‘पढाई खर्चमा सबैसंग हात जोडेर छुट गरेकी छु । तर पेटलाई छुट दिन नमिल्ने रैछ ?
बुवाको मृत्युपछि वडा कार्यालयमा आँफुजस्तै पिडित बालबालीकाहरुका लागि विनियोजित बजेट माग्न समेत उनी नगएकी होइनन् । तर कसैले पनि सुनुवाई नगरेको उनले गुनासोे गरिन् ।
आमाको उपचार त परै जाओस् तर भाइ–बहिनीलाई राम्रो शिक्षा दिने सपना छ उनको । तर कसरी ? आँफैलाई उनी प्रश्न गर्छिन् । नन्दाका १३ वर्षीय भाई र ११ वर्षीय बहिनी छन् । उनीहरुको लागि नन्दा नै बलियो खम्बा हुन् ।

आमाले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताले पनि थुप्रै सहयोग गरेको उनी बताउँछिन् । राज्यले अभिभावक बिहिन तथा पिडित बालबालीकाहरुका लागि बजेटको व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।
‘लकडाउनको समयमा होटेलमा सहयोगीको काम गरेर घरखर्च चलाएँ ’ उनले थपिन् ‘ मेरो पनि पढाई राम्रो छ । पढाई छोडेर मजदुरी गर्न पनि सक्दिन ।’ कसैको सहयोग पाए आफ्नो पढाईलाई अझै राम्रो बनाउने उनले बताईन् ।
विद्यालय पोशाक र कापी किताब किन्नका लागि कसैले सहयोग गरिदिएको भए सहज हुने उनको अपेक्षा छ । तर हालसम्म कतैबाट पनि सहयोग नपाएको उनले सुनाईन् ।

सीता वली ३ फाल्गुन २०७८, मंगलवार १४:४२